Monday, February 24, 2020

WHAT IS COUNSELLING AND WHAT IS NOT? 5 MYTHS AND FACTS

डक्टर्स आर्टिकल

काउन्सेलिङ के हो, के होइन? ५ भ्रम र सत्य

डा बैकुण्ठरमण सुवेदी 
सामान्य अर्थमा कसैको समस्या सुनेर त्यस विषयमा सल्लाह वा अर्ति दिनुलाई नै काउन्सेलिङ भन्ने गरिएको छ। तर प्रोफेसनल साइकोलोजिकल (साइकोसोसल) काउन्सेलिङ त्योभन्दा नितान्त फरक कुरा हो, जहाँ सिधा सल्लाह दिने विधि सम्भव भएसम्म प्रयोग गरिँदैन।
परिस्थिति र समय बदलिँदै जाँदा कसैबाट पाएको सल्लाह व्यक्तिको जीवनमा छिट्टै नै असान्दर्भिक बनिदिन पुग्छ, किनकी मानव जीवन र त्यहाँको समस्या आफैंमा बहुआयामिक र जटिल हुने गर्छ। फेरि मानिसको स्वभाव नै अरुको उपदेश सुनिहाले पनि त्यसलाई पटक्केै अबलम्वन नगर्ने गरेको पाइएको छ।
काउन्सेलिङ पारस्परिक वार्तालापको स्थितिमा अगाडि बढाइने यस्तो उपचार वा सहायताको पद्धति हो, जहाँ मनोविज्ञानका सिद्धान्त र सम्वादका स्थापित रणनीतिहरु- आत्मविवेचन, मनोविश्लेषण, भावनात्मक नियमन, सोच परिवर्तन र समस्या समाधान जस्ता उपायहरुमार्फत मानसिक र अध्यात्मिक स्वास्थ्य प्रबर्धन एवं जीवन अनुभुतिलाई थप आनन्दमय बनाउनको लागि प्रयोग गरिन्छ।
काउन्सेलिङमा तटस्थ, जिज्ञासु एवं अन्य विशिष्ट प्रश्नहरुको प्रयोगमार्फत काउन्सेलर प्रायः यस्तो ऐना बन्न कोशिस गर्दछ, जसमा व्यक्ति (क्लायन्ट) आफ्ना व्यवहार, भावना, अनुभूतित, सोच र मानसिक अवस्थाहरुको जीवन लक्ष्यसँग तादाम्य र सामञ्जस्य विवेचना गरी सही निर्णय लिन र स्वस्थ सोच अँगाल्न एवं व्यवहार अबलम्वन गर्न सफल हुन्छ। यसकारण, आमधारणा विपरीत काउन्सेलिङमा क्लायन्टभन्दा काउन्सेलर सामान्यतः कम बोल्ने र बढी सुन्ने गरी क्लायन्टलाई  खुल्ने, समस्या सेयर गर्ने, उपयुक्त निर्णय लिने र सही समाधानको उपायमा अग्रसर हुन सहज लाग्ने वातावरण तयार गरिदिन्छ।
यसरी काउन्सेलिङको मूल लक्ष्य, व्यक्तिको समस्या समाधान गरिदिएर दीर्घकालीन रुपमा परनिर्भर बनाउनुभन्दा पनि क्लायन्टको हालको र भविष्यमा आउनसक्ने यस्ता समस्याहरु आफंै समाधान गर्नसक्ने आत्मविश्वास र कौशलता विकासमा सहयोग गर्नु हो।
काउन्सेलिङको विषयमा सही जानकारी नभएका कारण आज पनि धेरै व्यक्तिहरु नेपालमै उपलब्ध भइसकेका काउन्सेलिङका सेवाहरु समेत लिन नसकी मानसिक स्वास्थ्यसँग सम्झौता गर्दै पीडामा गुज्रन बाध्य भइरहेका छन्। प्रस्तुत छ, काउन्सेलिङसम्बन्धी मुख्य ५ भ्रम र सत्यः
भ्रम १ः काउन्सेलिङ गम्भीर मानसिक समस्या भएका बिरामीको लागि मात्र हो
सत्यः गम्भीर मानसिक समस्या भएका बिरामीमा औषधिको साथमा काउन्सेलिङ वा साइकोथेरापी अत्यन्त लाभदायक हुन्छ। तर अध्ययनहरुले तनावका विविध स्रोत एवं सामान्य मनोसामाजिक समस्याहरु काउन्सेलिङ लगायतका पद्धतिबाट सुरुमा नै समाधान गरे धेरै हदसम्म मानसिक समस्या हुनबाट नै बच्न सकिने देखाएको हुँदा आजकल यो रोगको रोकथाम र मानसिक  स्वास्थ्य एवं खुसीको प्रबर्धनको उपायको रुपमा बढी प्रयोग हुने गरेको छ। यस अर्थमा पनि आजकल साइकोथेरापीभन्दा काउन्सेलिङ शब्द बढी रुचाइने गरिएको छ।
डाइग्नोस्टिक लेबलिङले प्रायः व्यक्तिको मनोविज्ञानमा झन् असजिलो पारिदिने हुँदा काउन्सेलिङमा अति आवश्यक परेमात्र त्यस्तो बिमारको ट्याग प्रयोग गरिन्छ, सम्भव भएसम्म गरिँदैन। काउन्सेलिङ लिनको लागि कुनै अमुक रोग हुनु जरुरी छैन। अर्थात् काउन्सेलिङ कुनै विशेष रोगको उपचारात्मक उपायमात्र नभई जीवनमा कार्यकुशलता, खुसी, एवं बहुआयामिक स्वास्थ्यको साधनको रुपमा आजकल बढी प्रयोग हुने गरेको छ। वैवाहिक सम्बन्धमा परामर्श, पारिवारिक असमञ्जस्यमा परामर्श, ठूला निर्णयमा पुग्न पर्सनालिटी प्रोफाइलमा आधारित परामर्श यस्ता केही उदाहरण हुन्।
भ्रम २ः काउन्सेलिङ लिनु आफ्नो कमजोरी प्रदर्शन गर्नु हो
सत्यः परम्परागत रुपमा नेपाली समाज मर्दले रुनु हुँदैन वा अरुलाई आँसु देखाउनु हुँदैन भन्ने जस्ता मान्यता सिकाएर आँसु झार्नुजस्ता विशिष्ट मानव सम्वेदनाका कुराहरुलाई समेत कमजोरीको रुपमा मान्ने गरेको समाज हो। समस्या एवं सम्वेदनाहरु अरुसँग लुकाउने वा एक्लै झेल्ने कोशिसमा शक्तिको अत्यन्त क्षय हुन गई झन् मानसिक समस्या बढ्ने गरेको अध्ययनबाट पाइएपछि आजकल मानव सम्वेदना लुकाउनमा मानिसहरु अनावश्यक संघर्ष नगरुन् भनी पश्चिमा मुलुकहरुमा ‘पर्मिसन टु बि ह्युमन’ भन्ने जागरण अभियान नै चलाइने गरिएको छ। धेरैको स्वभाव अझै पनि सहयोग लिन वा माग्न लाज मान्ने वा हिच्किचाउने हुन्छ। तर कुनै पनि समस्या जटिल नबन्दै समाधानको पहल गर्नु वा काउन्सेलिङ लिनु कमजोरी नभई झन् साहस देखाउनु हो। पीडित बन्न छोडेर विजेता बन्ने प्रयास गर्नु हो।
भ्रम ३ः मेरो सोचाइको र अन्य समस्या म आफैं व्यवस्थापन गर्न सक्षम छु। मेरा व्यक्तिगत समस्यामा अरुको सहयोगको आवश्यकता छैन
सत्यः तनाव, एन्जाइटी र अन्य विभिन्न मनोवैज्ञानिक समस्यालाई सुरुमा वा सहनसक्ने स्थितिसम्म सामान्य मानी एक्लै जुध्न कोशिस गर्ने वा उपचार नखोज्ने र पछि समस्या बढी भई बल्मिmएपछि फेरि ठिक नहुने बिमारको रुपमा लिई सही उपचार नखोज्ने गरेको कारण धेरैको मानसिक, आध्यात्मिक, शारीरिक स्वास्थ्य एवं कार्यकौशलतामा गम्भीर नकारात्मक असर पर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। अर्काे अर्थमा यो सोच, शिक्षक वा कसैको सहयोगबिना नै शिक्षा लिने वा कोचबिना नै खेल सिक्ने प्रयास गर्नु जस्तै हो, जुन असम्भव नै त नहोला तर किफायती उपाय भने पक्कै होइन।
भ्रम ४ः मेरो काउन्सेलिङ त साथीभाइसँग वा आफ्नो मान्छेसँग नै हुन्छ
सत्यः साथीभाइ वा आफ्नो मान्छेसँग समस्या सेयर गर्नु वा सहयोगीहरुको सञ्जालमा रहनु अत्यन्त लाभदायक हुन्छ। तर यस प्रकारको सहयोग एवं लाभका सीमाहरु  हुन्छन्। उदाहरणको लागि व्यक्तिको पर्सनालिटी, बौद्धिक क्षमता, सामाजिकीकरण, वर्तमान परिवेश र प्राथमिकताका आधारमा व्यक्तिसँगको रेपोर्ट बिल्डिङ्ग र काउन्सेलिङकोे रणनीति नै फरक पार्नुपर्ने हुन्छ। बढी भावनात्मक व्यक्तिलाई कोग्निटिभ बिहेबियर थेरापी सतही र बन्धनात्मक लाग्न सक्छ। बौद्धिक चुनौती मन पर्ने व्यक्तिलाई ह्युमानिस्टिक विधिहरुमा पट्यार लाग्ने हुन सक्छ।
समस्याका विविध पक्षमा नगई छिटो समाधान चाहनेको लागि सोलुसन फोकस्ड थेरापीका विधिहरु उपयुक्त हुन सक्छन्। साथी वा परिवारको मान्छेले यी कुरा बुझेर काउन्सेलिङ गर्न सम्भव हुँदैन। त्यहाँ, सहयोग प्रायः कुरा सुनेर सुझाव दिनुमा नै सीमित रहन्छ। साथै त्यस्तो सहायतामा गोपनियताको ग्यारेन्टी र सम्बन्ध पनि प्रोफेसनल काउन्सेलिङमा जस्तो कानुनतः र नैतिक रुपमा सुरक्षित हुँदैेन। साथी वा नजिकको व्यक्तिसँग पूर्ण रुपमा खुल्नलाई नै समेत धेरैजसो व्यक्तिलाई अफ्ठयारो लाग्ने गर्छ।
भ्रम ५ः काउन्सेलिङ धनी व्यक्तिले लिने बिलासी सेवा हो
सत्यः पहिलेको फ्रायडियन साइको एनालिसिसमा आधारित काउन्सेलिङ वा थेरापी एकै व्यक्तिको लागि लगातार महिनौँसम्म पनि चल्ने गर्दथ्यो। यसै कारण धेरैले अहिले पनि काउन्सेलिङलाई धनी व्यक्तिले लिने बिलासी सेवाको रुपमा बुझ्ने गरेका छन्। तर आजकल त्यो पद्धतिको प्रयोग अत्यन्तै कम वा नगन्य रुपमा गर्ने गरिन्छ।
ऋाजकलका नयाँ विधिहरुबाट धेरैजसो समस्यामा काउन्सेलिङले औसतमा ४ देखि ८ सेसन (४–८ घन्टामा) नै वा त्योभन्दा छिटो नतिजा दिनसक्ने कुरा अनुसन्धानबाट स्थापित भएको छ। शारीरिक समस्याबाट बच्न हामीले गर्ने विभिन्न परीक्षणको तुलनामा यो त्यस्तो महँगो सेवा होइन। हामीले मानसिक स्वास्थ्य एवं खुसीको विषयलाई कम प्राथमिकता दिनुको साथै यसले प्रदान गर्ने दीर्घकालीन बहुआयामिक लाभका विषयलाई नजरअन्दाज गरेको कारण मात्र त्यस्तो लाग्न गएको हो।
जीवनका ठूला निर्णयहरु, जस्तो अध्ययनको क्षेत्र, पेसा छनोट, वैवाहिक सम्बन्ध जस्ता विषयमा पर्सनालिटी प्रोफाइल र काउन्सेलिङमा आधारित भएर निर्णय लिने हो भने ठूलो पछुतोबाट बच्न सकिन्छ। र जीवनलाई थप अर्थपूर्ण बनाउन सकिन्छ। यसै कारण विकसित मुलुकमा काउन्सेलिङ सेवा अत्यन्त प्रचलित हुँदै गइरहेको छ।
(डा सुवेदी क्लिनिकल साइकोलोजिस्ट हुन्)

प्राप्त प्रतिकृयाहरू

Lila Upreti लेख्नुहुन्छ२०७६ पौष ६ आइतबार ०५:४८ 
I read your article and it is very useful . How can meet you ? Do you have your clinic or address ? Thanks
Sangeeet Neupane लेख्नुहुन्छ२०७६ पौष ५ शनिबार ०८:३४ 
कतिपय अवस्थामा normal मान्छेलाई पनि काउन्सिल को आवस्यकता पर्दछ। समय र परिस्थिति सङै हालको समयमा अरुलाइ सुन्ने अरुको लागि समय दिने अवस्था रहेन केबल भविष्य प्रतिको लोभ ले तानिरहेको छ। यस्तो अवस्था मा हर कोहिलाइ जुन सुकै समयमा काउन्सिल को आवश्यकता पर्ने हुनाले नेपालमा अझै सहजीकरण हुँदै जाओस र आम मानसमा समेत य्स्लाइ सामान्य सोच्ने प्रवृत्ती को समयमै विकास होस।

यसमा तपाइको मत

 
CAPTCHA Image 

प्रतिकृया दिनुहोस

No comments:

Post a Comment