श्रीमान्–श्रीमतीबीच झगडा कसरी घटाउने ?
हाम्रो समाजमा ‘श्रीमान्–श्रीमतीको झगडा परालको आगो’ भन्ने उखान प्रचलित छ । सामान्य कुरामै झगडा भई सजिलै साम्य हुने भनेर यसलाई सामान्यीकरण गरिन्छ । तर, समाज बिस्तारै सामूहिक अर्थात् ‘कलेक्टिभिस्टिक’ सोचबाट व्यक्तिवादी अर्थात् ‘इन्डिभिजुअलिस्टिक’ सोचतर्फ अग्रसर हुँदै गइरहेको सन्दर्भमा परालको आगो भयानक डढेलोमा परिणत भएका घटना बढ्दै छन् ।
तात्कालिक व्यक्तिगत सुख, सफलता र खुसी नै सर्वाेपरि मान्ने पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै वैवाहिक सम्बन्धलाई स्थायित्व दिने परम्परागत आधार कमजोर बन्दै छन् । यसैले दम्पतीको झगडा न्यूनीकरण र समाधानमा थप संवेदनशीलता अपरिहार्य छ ।
पारिवारिक बेमेल, झगडा र सम्बन्धविच्छेदले सम्बद्ध व्यक्तिका साथै सन्तानमा दीर्घकालीन मनो–सामाजिक प्रभाव निम्त्याउँछ । सामाजिक सुरक्षा, रोजगार र अन्य आर्थिक अवसरको अवस्था दयनीय भएको हाम्रो देशमा त यस्ता समस्याको प्रभाव अकल्पनीय हुने गर्छ ।
धरातलीय यथार्थ र सामाजिक परिवेश विचार नगरी पश्चिमा ‘माइन्ड सेट’ र विलासी आकांक्षा पाल्ने अनि निराशामा फँस्दै व्यक्तिगत एवं पारिवारिक जटिलता निम्त्याउने हाम्रो सामाजिक समस्या बन्दै छ । नेपाली समाज सोचमा त खुला अनि स्वतन्त्र भएको छ, तर त्यसका लागि आवश्यक आर्थिक एवं अन्य व्यावहारिक तयारीमा खासै प्रगति भएको छैन ।
श्रीमान्–श्रीमतीबीच मनोवैज्ञानिक व्यक्तित्वका हिसाबले भिन्नता हुन सक्छ भन्ने ज्ञात नहुनु वा भएर पनि तदनुरूप व्यवहार गर्न नसक्नु झगडाको बिउ हो । व्यक्तिले विषय, तथ्य एवं जानकारी ग्रहण गर्नुका साथै त्यसको प्रयोग गरी निर्णयमा पुग्ने स्वाभाविक भिन्नताका कारण उनीहरूको रुचि, इच्छा, आकांक्षा, रमाउने तरिका, माया र सम्मानको अनुभव गर्ने तरिका फरक हुन सक्छन् । यसैगरी, तनाव सहने, परिस्थिति झेल्ने, प्रतिक्रिया जनाउने तरिकाका साथै सीप, कला, खुबी, जीवनका मूल्य–मान्यता, प्राथमिकता र लक्ष्य पनि फरक हुन सक्छन् ।
प्रचलित ‘मायर्सब्रिग्स पर्सनालिटी टेस्ट’ले व्यक्तित्वलाई १६ प्रकारमा वर्गीकरण गरी बुझ्ने प्रयास गर्छ । कुनै पनि व्यक्तित्व अर्कोभन्दा राम्रो वा नराम्रो हुँदैन । सबैका आ–आफ्ना सबल र दुर्बल पक्षका साथै विशिष्टता हुन्छन्, अनि फरक महत्वका पनि । सामान्यतः श्रीमान्–श्रीमतीले एक–अर्काको व्यक्तित्वको स्वाभाविक खुबी र कमजोरीमा परिपूरण गर्न सक्नुपर्ने हो, तर वैवाहिक सम्बन्धमा यो व्यक्तित्वमा रहने विविधताको व्यवस्थापन नै समस्याको कारण बन्ने गर्छ । धेरै वैवाहिक सम्बन्ध माया हुँदाहुँदै पनि कलहमा फस्ने गर्छ ।
सामान्यतः पुरुष र महिलामा लामो उद्विकास प्रक्रियाको उपजस्वरूप केही विशेष भिन्नता हुन्छन् । सिकारी युगदेखि दोस्रो विश्वयुद्धसम्मै पुरुष जंगली सिकार वा लडाइँमा जाने अनि महिला वासस्थानमा घर चलाउने जीवन पद्धतिको प्रभावस्वरूप पुरुष हल्का ‘मिसन फोकस्ड’ व्यवहार प्रदर्शन गर्छन् । भावनात्मक संवेदनशीलतामा अलि कमजोर हुन्छन् । महिला भावनाप्रधान, सम्बन्धकेन्द्रित, सेयरिङ–केयरिङ व्यवहारमा कुशल हुन्छन् ।
सानोतिनो कुरामै ‘ओभर रियाक्ट’ गरेको र तिललाई पहाड बनाएको गुनासो पुरुषले महिलाप्रति गर्छन् । यस्तै, महिलामा आफ्नो कुरा पुरुषले नसुनेको, समय नदिएको गुनासो बढी हुने गर्छ । स्वभावैले महिला स–साना कुरामा सँगै रमाऔँ भन्ने चाहन्छन् । ठूलो उपलब्धि हासिल गरी परिवारलाई खुसी पार्न खोज्छन्, पुरुष । संरक्षकको भूमिकाको कदर वा प्रोत्साहन चाहने हुन्छन् । महिलालाई सम्बन्धको दिगोपन एवं आर्थिक भविष्यको सुनिश्चितता बढी महत्वको लाग्ने गर्छ । वैवाहिक सम्बन्धमा माया र सम्मान आदान–प्रदानमा प्रयोग गरिने विधि वा भाषाको व्यावहारिक ज्ञान महत्वपूर्ण हुन्छ ।
प्रख्यात लेखक तथा परामर्शदाता डा. ग्यारी च्यापमेनका अनुसार प्रोत्साहनका शब्द, एक–अर्कालाई समय, उपहार, जिम्मेवारीमा सघाउनु र स्पर्श मायाका मूल भाषा हुन् । हरेकमा यी सबैको केही न केही महत्व भए पनि माया अनुभूत गर्न एक मूल भाषा हुने गर्छ । उनका अनुसार जीवनसाथीको मायाको मूल भाषा के हो भन्ने बुझ्ने कोसिसै नगरी साथीलाई मन पर्नेभन्दा आफूलाई सजिलो लाग्ने मायाका भाषा व्यक्त गर्नु श्रीमान्–श्रीमतीको झगडाको प्रमुख कारण हो ।
कहिलेकाहीँ श्रीमान्–श्रीमतीमा सामान्य झगडा हुनु त्यति गम्भीर समस्या होइन, तर, झगडापश्चात् गल्ती सच्याउने प्रयास नहुनु र ‘सरी’ भन्न नसक्नु भने गम्भीर समस्या हो
माया मनमै कैद गरेर हुँदैन, साथीले त्यसको अनुभव गर्न पाउनुपर्छ । तारिफ वा प्रोत्साहन मूल भाषा हुनेलाई उपहारले अपेक्षित खुसी नदिन सक्छ । जिम्मेवारी वा काममा सहायता चाहनेलाई स्पर्शले पुग्दैन । एक–अर्काको ‘क्वालिटी टाइम’ चाहनेलाई काममा सहायताले नपुग्न सक्छ । उपहार मूल भाषा हुनेलाई जन्मदिन र वैवाहिक वर्षगाँठमा उपहारसहित माया व्यक्त नगरे अरू कुनै कुराले अर्थ नराख्न सक्छ । माया आदान–प्रदानमा प्रयोग हुने अन्य विधिलाई समेत यिनै पाँच भाषाका स्वरूप मान्न सकिन्छ ।
कैयौँ मनोवैज्ञानिक अध्ययनको निष्कर्षअनुसार दम्पती (प्रेमी–प्रेमिका पनि)बीचको झगडाको अर्काे प्रमुख कारण संवादको शैली हुने गर्छ । संवाद शैलीको कारण दम्पतीहरू स–साना मतभेद एवं व्यावहारिक जटिलताको सही एवं दुवैले जित्ने समाधानमा पुग्नै सक्दैनन् । कुराकानी समस्याको चुरोमा केन्द्रित नभई आरोप–प्रत्यारोपमा सीमित हुन पुग्छ । नवविवाहित दम्पतीको संवादको शैली र व्यवहार अवलोकन गरेर करिब ८० प्रतिशत सफलताका साथ सम्बन्धको भविष्य पूर्वानुमान गर्न सक्ने भनी ख्याति कमाएका मनोवैज्ञानिक जोन गटमेनका अनुसार सम्बन्धमा समस्याका चार प्रमुख सूचक हुने गर्छन् ।
खास गल्ती वा सुधार गर्नुपर्ने पक्षमा केन्द्रित नभई व्यक्ति नै खराब भन्ने भाषा प्रयोग गरिरहनु, होच्याउने वाक्यको प्रयोग, घुर्कीको मात्रा अधिक हुनुका साथै सकारात्मक गुनासो एवं संवादको मात्रा घट्दै जानु सम्बन्धमा दरार ल्याउने प्रमुख तत्व हुन् । अध्ययनका अनुसार कहिलेकाहीँ श्रीमान्–श्रीमतीमा सामान्य झगडा हुनु त्यति गम्भीर समस्या होइन, तर झगडापश्चात् गल्ती सच्याउने प्रयास नहुनु र ‘सरी’ भन्न नसक्नु भने गम्भीर समस्या हो ।
जीवनसाथीका स–साना गल्ती–कमजोरी नजरअन्दाज गर्न सक्नु सफल दाम्पत्य जीवनको विशेषता पाइएको छ । यस्ता दम्पतीमा ‘सायद परिस्थिति नै त्यस्तो पर्न गयो होला’ भनेर साथीलाई दुःखी बनाउने व्यवहार नगर्ने बानी हुन्छ । सुखद वा खुसी तुल्याउने व्यवहारको जस भने व्यक्ति र व्यक्तित्वलाई दिने गर्छन् । तर, कलहमा फस्ने वा विच्छेदतर्फ जाने दम्पतीमा यसको विपरीत सोचाइको प्रधानता पाइन्छ ।
विवाहेतर सम्बन्ध वा त्यस्तो शंका, परिवारका अन्य सदस्यलाई सन्तुलनमा राख्न नसक्नुका साथै आर्थिक संकट गम्भीर झगडाका कारणहरू हुन् । यस्तै, व्यावहारिक विषयमा आपसी छलफलको सहज वातावरण बनाउनु र दुवैलाई मान्य हुने उपाय खोजी त्यसको अवलम्बनका लागि तत्परता देखाउनु सुखद दाम्पत्यको अति महत्वपूर्ण पक्ष हो । दाम्पत्यमा एउटा पक्षले हारेको अनुभव गरे सम्बन्धले नै हार्ने हुन्छ ।
(लेखक क्लिनिकल साइकोलोजिस्ट हुन्)
Original Link -
https://www.nayapatrikadaily.com/news-details/57847/2021-01-04?fbclid=IwAR0cPO1DfDjkAzBo0Wk8oSac_Bs-NX13nY1o9y9TNF0OHMq10c0_G47Q5y4

No comments:
Post a Comment